काठमाडौं । ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले भोलि (आइतबार) पहिलो खेल खेल्दैछ ।
अल अम्रेट क्रिकेट मैदानमा नेपालले हङकङको सामना गर्दै सिरिजको सुरुवात गर्नेछ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार ३ : १५ बजे सुरु हुनेछ ।
हङकङविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपाल हङकङलाई पराजित गर्न चाहन्छ ।
हङकङ पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा हुनेछ । तर, नेपालविरुद्धको खेलमा हङकङ केहि दबाबमा हुनेछ ।
हङकङपछि नेपालले नेदरल्याण्डसँग सोमबार खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
हेड टु हेड
नेपाल र हङकङबीच हालसम्म ७ पटक टी-ट्वान्टी खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ३ पटक विजयी भएको छ भने हङकङले ४ खेलमा बाजी मारेको छ ।
पहिलो पटक नेपाल र हङकङबीच सन् २०१० को एसियन गेम्समा प्रतिस्पर्धा भएको थियो । पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । जवाफमा नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र ८५ रन बनाउन सक्यो र खेलमा ३० रनको हार व्यहोरेको थियो ।
दोस्रो भेट सन् २०१२ को आईसीसी विश्व टी-ट्वान्टी छनोटमा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको अर्धशतकीय इनिङमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । हङकङले जवाफमा ९ विकेट गुमाएर मात्र १ सय २ रन बनायो र नेपाल खेलमा २८ रनले विजयी भयो ।
सन् २०१३ को एसीसी टी-ट्वान्टी कपमा नेपाल हङकङसँग ६ विकेटले पराजित भयो । नेपालले दिएको १ सय १५ रनको लक्ष्य हङकङले १६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
यस्तै सन् २०१३ को आईसीसी विश्व टी-ट्वान्टी छनोटमा पुन: नेपालले हङकङ माथि विजयी हात पार्यो । हङकङले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाएर पुरा गर्यो । रोमाञ्चक खेलमा कप्तान पारसले ४६ रन बनाउँदा रन आउट भए भने ज्ञानेन्द्र मल्लले ३० तथा सागर पुनले २२ रनको योगदान गरे ।
सन् २०१४ को आईसीसी विश्व टी-ट्वान्टीमा पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा ऐतिहासिक जित हात पार्यो । नेपालले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हङकङ १७ ओभरमा ६९ रन बनाउँदा अल आउट भएको थियो ।
सन् २०१४ को श्रीलंका भ्रमण गरेको नेपाल र हङकङले ५ मैत्रीपूर्ण खेल खेल्ने तालिका भएपनि खराब मौषमका कारण मात्र एक खेलेको थियो । चौंथो खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पुरै विकेट गुमाएर मात्र ७२ रन बनायो । जवाफमा ब्याटिङ गरेको हङकङले १ बल बाँकी रहँदा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । चौंथो खेलमा २ विकेटको जित निकालेको हङकङले सिरिज १-० ले जितेको थियो ।
पछिल्लो पटक टी-ट्वान्टीमा नेपालले हङकङसँग सन् २०१५ मा प्रतिस्पर्धा गरेको थियो । आईसीसी विश्वकप टी-ट्वान्टी छनोट अन्तर्गत भएको खेलमा हङकङ ५ विकेटले विजयी भएको थियो । नेपालले दिएको १ सय १० रनको सामान्य लक्ष्य हङकङले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।