एजेन्सी ।अष्ट्रेलियाका ओपनर ब्याट्सवुमन एलेसा हेलीले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाएकी छिन् ।
श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा अविजित १ सय ४८ रन बनाउँदै हेलीले महिला क्रिकेटको एकै इनिङ्समा सर्वाधिक रनको कीर्तिमान बनाएकी हुन् ।
यसअघि सर्वाधिक रनको कीर्तिमान अष्ट्रेलियाकै मेग लनिङको नाममा रहेको थियो । उनले जुलाईमा इंग्ल्याण्डविरुद्ध १ सय ३३ रन बनाएकी थिइन् ।
हेलीले श्रीलंकाविरुद्ध १९ चौका तथा ७ छक्का प्रहार गरेकी थिइन् । ४६ बलमा शतक प्रहार गर्दै उनले टिमको स्कोर २ सय २६ रन पुर्याउन सहयोग गरेकी थिइन् ।
२ सय २७ रनको लक्ष्य पछ्याएको श्रीलंका ७ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । र, अष्ट्रेलियाले १ सय ३२ रनको जित हात पार्दै ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ ।
श्रीलंकाविरुद्धको शतक हेलीको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक पनि हो । यस्तै उनको यो शतक अष्ट्रेलियन खेलाडीको सर्वाधिक चाँडो शतक समेत हो ।
१ सय ४८ रन सबै टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा चौथो र महिलामा पहिलो सर्वाधिक व्यक्तिगत ठुलो स्कोर हो ।