काठमाडौं । ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि (बिहिबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर रमन सिवाकोटीले नेपाली टिम सिंगापुरबाटै अपरान्ह त्यसतर्फ जाने जानकारी गराए । नेपाली टिम सिंगापुरको समय अनुसार ३:१० बजे ओमान जाने छन् ।
नेपाली टिम अहिले त्रिकोणात्मक टी-ट्वान्टी सिरिजका लागि सिंगापुरमा रहेका छन् । तर, नेपाल सिरिजबाट बाहिरिसकेका छन् ।
ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
सिरिज यहिँ असोज १८ देखि २३ सम्म हुनेछ ।
नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।
युएईमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।