काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल र घरेलु टिम सिंगापुरबीचको खेल रद्द भएको छ ।
वर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १-१ अंक बाडेका छन् ।
यो खेल रद्द भएसँगै नेपाल सिरिजको उपाधि होडबाट बाहिरिएको छ । नेपालले ४ खेलमा ३ अंक जोड्यो । नेपाल दोस्रो स्थानमा रहेको छ ।
सिरिजमा नेपालले जिम्बावेसँग दुई खेल हारेको थियो । सिंगापुरलाई भने हराएको थियो ।
सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो ।
यस्तै मंगलबार भएको तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको थियो ।
अब उपाधि होडमा जिम्बावे र सिंगापुर रहेका छन् । बिहिबार दुई टोलीबीच हुने खेलले सिरिज जित्ने टोलीको तय हुनेछ ।
जिम्बावे ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सिंगापुर ३ खेलमा ३ अंक जोडेर पुछारमा छ ।
डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।
सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो । घरेलु मैदानमा भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको हो ।
नेपाल भने अब अर्को सिरिज खेल्न ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी-ट्वान्टी सिरिज खेल्नेछ ।
अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन् ।