काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
इन्डियन एसोसियसनको मैदानमा जिम्बावेविरुद्ध नेपालले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ । जिम्बावेले सुरुवातमा ब्याटिङ गर्नेछ ।
सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार पुनः जिम्बावेविरुद्ध खेल्न लागेको हो ।
जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो भेटमा नेपाल जिम्बावेलाई हराउँदै बदला लिन चाहन्छ ।
यस्तै नेपाल जिम्बावेलाई हराएर सिरिजको उपाधि होड बलियो बनाउन चाहन्छ । आयोजक तथा एसोसियट राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई हराएपछि नेपाल थप हौसिएको छ । आइतबार राति भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको थियो ।
नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । सिरिजको तालिकामा जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ ।
सिंगापुरको पनि २ अंक छ । त्यसैले ३ वटै टिमले सिरिजको उपाधि जित्ने सम्भावना छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।