काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलमा अब स्वर्णीमकालको सुरुवात हुने बताएका छन् ।
एन्फाको कार्यनीति, ग्रासरुट, विधान र नियमावलीमाथी क्लबस्तरीय अन्तरक्रिया एवम् कार्यशाला गोष्ठिमा आफ्ना योजना सार्वजनीक गर्दै अध्यक्ष शेर्पाले आफ्नो कार्यकाललाई फुटबलको स्वर्णीम युगमा परिणत गर्ने दाबी गरे । ‘श्रावण ३० गतेको विशेष साधारण सभापछि नेपाली फुटबलमा स्वर्णीमकालको सुरुवात हुनेछ ।’ शेर्पाले भने ।
विधान संशोधन, प्रस्तावित विधान, र कर्मचारी नियमावली लगायतका बिषयमा निर्णय गर्न एन्फाले श्रावण ३० गते विशेष साधारण सभा बैठक बोलाएको छ । नेपाली फुटबलको पुर्ण विकास आफ्नो एकमात्र उद्धेश्य रहेको बताउदै शेर्पाले नेपालमा फुटबलमय वातावरण सिर्जना गरिने दाबी गरे ।
आफुले काम गर्ने पाँच निश्चित क्षेत्रहरु सार्वजनीक गर्दै उनले असल व्यवस्थापन, पुर्वाधार विकास, प्रतियोगिताको आयोजना, तालिको व्यवस्था र क्षमता अभिवृद्विमा आमुल परिवर्तन गर्ने दाबी गरे ।
शेर्पाले सामुहिक नेतृत्व प्रणाली अनुसार सबै समितिलाई क्रियाशिल बनाईने बताए । फुटबलमा पारदर्शीता, विकेन्द्रिकरणको सिद्धान्त अवलम्बन गर्दै विधि प्रक्रिया अनुसार एन्फालाई अघि बढाउने बिषय उनको योजनामा समेटिएको छ । उनले देशका विभिन्न स्थानमा फुटबल तालिम केन्द्रको स्थापना गर्ने बताउदै प्रत्येक नगरपालिका र प्रदेशमा रंगशालाको निर्माण गरिने बताए ।
केन्द्रमा दुई अन्तराष्ट्रिय रंगशाला निर्माण गर्ने योजना सार्वजनीक गर्दै उनले प्रत्येक प्रदेशमा कम्तिमा २ तालिम केन्द्र खोलिने जानकारी दिए ।उनले भने,‘प्रत्येक तालिम केन्द्रमा ९० खेलाडी रहनेछन् । जसमा १२ बर्ष मुनिका, १४ बर्ष र १६ मुनिका बालबालिकालाई प्रशिक्षण दिईनेछ ।’
अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा धेरै राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने दाबी गरे । विभिन्न उमेर समुहका लिग प्रतियोगिता आयोजना गरिने महत्वकाक्षी योजना सार्वजनीक गर्दै उनले अब ७७ जिल्लामा लिग फुटबल गरिने बताए ।
जिल्ला लिगमा २ टोली रेलिगेशनमा झर्ने जानकारी दिदै उनले प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, सहिद स्मारक लिग हुँदै राष्ट्रिय लिगमा टोलीहरुलाई समावेश गरिने योजना सार्वजनीक गरे । राष्ट्रिय नकआउट प्रतियोगिता आयोजना गर्दै उमेर समुहका विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गरिने उनको भनाई छ ।
फुटबल विकासकालागि धेरै जनशक्ति आवश्यक पर्ने भन्दै उनले विभिन्न शाखाको विकास गर्दै फुटबल गतिविधि अघि बढाईने बताए ।