काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्यानमाथि लगाएको निलम्बन छिट्टै फुकुवा गर्ने बताएका छन् ।
राजधानीमा आयोजित एक अन्तरक्रियामा बोल्दै अध्यक्ष चन्दले आईसीसीकै सल्लाह र निर्देशनअनुसार काम भैरहेकोले क्यानमाथिको निलम्बन छिट्टै फुकुवा हुने दाबी गरे । आईसीसीको अब बस्ने पहिलो बैठकले नै क्यान निलम्बन फुकुवा हुने उनको भनाई थियो ।
'मलाई लाग्दैन कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसीसीलाई राम्रोसँग थाहा छ,' अध्यक्ष चन्दले भने, 'आईसीसीले पनि नेपाललाई बचाउन खोजेको छ । नेपालको पक्षमा निर्णय गर्छ ।’
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट चन्द अध्यक्षमा निर्वाचित भएका थिए । उनको कार्यकाल चार वर्षको हुनेछ ।
यस्तै अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको समेत बताए ।
‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन्, नेपाली क्रिकेटको निकासलाई आईसीसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आईसीसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ,’ अध्यक्ष चन्दले भने ।
अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने समेत बताए ।
‘हामी यो क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं,’उनले थपे,‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानि ढंगले खेलाडी छनोट गरिएको छ । अब व्यवस्थित ढंगले खेलाडी छनोट गछौं ।’
अध्यक्ष चन्दले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीहरुले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्न पाउने सुनाए । सरकारसँग खेल मैदानको लागि सहकार्य गरेर अघि बढ्ने उनले सुनाए ।
काठमाडौं मुलपानी क्रिकेट रंगशालाको सवालमा पनि राखेपले गरेको काममा सहकार्य गर्ने उनको विश्वास छ ।
अध्यक्ष चन्दले अहिले निजीस्तरबाट भैरहेका विभिन्न लिगहरुलाई पनि कानुन बमोजिम बनाउने बताए । यस्तै अध्यक्ष चन्दले यही वर्ष आफूहरुले देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने पनि बताए ।