काठमाडौं । तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक सिंगापुरले जिम्बावेलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई ४ रनले पराजित गर्यो । योसँगै सिंगापुरले पहिलो पटक टेष्ट राष्ट्रलाई पराजित गर्दै इतिहास रच्न सफल भएको छ ।
वर्षाले प्रभावित गरेपछि १८ ओभरमा झारिएको खेलमा सिंगापुरले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८ ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो ।
जिम्बावेका लागि कप्तान सिन विलियम्स ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रेगिस चाकबभाले ४८ रन जोड्दा टिनोटेण्डा मुटुमबोड्जीले ३२ रन बनाए ।
सिंगापुरका लागि जनक प्रकाश र अम्जाद महबुबले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले १८ ओभरमा ९ विकेट गुमाएर १८१ रन बनाएको थियो । सिंगापुरका लागि टिम डेभिड र मनप्रित सिंहले समान ४१/४१ रन बनाए । यस्तै रोहण रंगराजनले ३९ र सुरेन्द्रन चन्द्रमोहनले २३ रन बनाए ।
जिम्बावेका रायन ब्रुलले ३ तथा रिचार्ड नाग्भाराले २ विकेट लिए ।
सिंगापुरसँग जिम्बावे पराजित भएपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलबाट २ अंक जोडेको छ ।
दोस्रो स्थानमा झरेको जिम्बावेले २ खेलमा २ अंक जोडेको छ । २ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।
नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ ।