काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ अन्तिम साताबाट फुटबलको ग्रासरुट कार्यक्रम सुरु गर्ने भएको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भदौ २९ गते बाल दिवसको अवसर बनाएर ग्रासरुट फुटबलको कार्यक्रम सुरु गर्ने जानकारी दिए ।
एन्फाले बुधबार आयोजना गरेको एन्फाको कार्यनीति, ग्रासरुट, विधान र नियमावलीको क्लबस्तरीय अन्तरक्रियामा बोल्दै अध्यक्ष शेर्पाले ४५ वटै सदस्य जिल्लामा ग्रासरुट कार्यकम आयोजना गर्ने बताएका हुन् । ग्रासरुट कार्यक्रमको लागी आवश्यक पूर्वाधारबारे एन्फाले ४५ जिल्लाका स्थानीय सरकारसंग छलफल भईसकेको र सबै जिल्लाले ग्रासरुटको लागी राम्रो प्रतिक्रिया दिएको समेत अध्यक्ष शेर्पाले बताए ।
यस्तै अध्यक्ष शेर्पाले नेपाली फुटबलको सुरुवात सुन्य तहबाटै भएको बताउदै ग्रासरुट कार्यकमबाटै उत्कृष्ट खेलाडीहरु आउने बताए । उनले उत्कृष्ट खेलाडी उत्पादन गर्नकै लागि भएपनि ग्रासरुट कार्यक्रम चाँडो सुरु गर्नुपर्ने अवस्था रहेको बताए ।
अध्यक्ष शेर्पाले रौतहटको चन्द्रनिगाहपुरमा महिला टेक्निकल सेन्टरको लागि काम अघि बढेको जानकारी दिदै प्रदेश नम्बर ४ मा एक अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने कार्यनीति तय भएको जानकारी गराए ।
एन्फाले आफ्नो भावी कार्यनीति, विधान, आर्थिक नियमावली, संस्थालाई नीतिगत रुपमा पारदर्शी बनाउदै नेपाली फुटबलको विकासको लागि बुधबार 'ए' 'बि' र 'सी' डिभिजनका क्लबसंग छलफल गरेको हो । यसअघि एन्फाले सातै प्रदेशमा छलफल गरिसकेको छ ।