काठमाडौं । राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज (बुधबार) दुई खेल हुँदैछ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा काठमाडौं र सशत्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आज काठमाडौं पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा काठमाडौं रौतहटसंग पराजित भएको थियो । एपीएफको यो पहिलो खेल हो ।
यस्तै दोस्रो खेलमा रौतहटले अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दैछ । रौतहट र पुलिसबीचको खेल अपरान्ह ३:३० मा हुनेछ ।
पुलिसविरुद्ध मैदान उत्रदा रौतहट लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यता, पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसंग पराजित पुलिस पहिलो जित निकाल्ने योजनामा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा पाँच टोलीको सहभागिता रहेको छ। ९ दिनसम्म चल्ने लिगको विजेताले दुई लाख पाउने छ । उपविजेताले एक लाख प्राप्त गर्नेछ ।