काठमाडौं । सिंगापुरविरुद्वको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालका कप्तान पारस खड्काले विश्व कीर्तिमान कायम गरेका छन् ।
सिरिज अन्तर्गत सिंगापुरविरुद्वको खेलमा कप्तान पारसले शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका हुन् । पारसले टी–ट्वान्टी अन्तराष्ट्रियमा लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने पहिलो कप्तानको कीर्तिमान बनाएका हुन् ।
कप्तान पारस नेपालका लागि टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी समेत बने । उनले ५२ बलमा १ सय ६ रनको शतकिय ईनिङ्स खेलेका थिए ।
उनले ९ छक्का र ७ चौकाको मदतले सो रन बनाएका थिए । पारस नेपालका लागि एक इनिङ्समा सर्वाधिक रन र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत बने ।
पारसकै कीर्तिमानी शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गर्यो । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो सर्वाधिक विकेटको जित समेत हो ।
ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका थिए । दुवैले १४५ रनको साझेदारी गरे । कप्तान पारस र आरिफको साझेदारी नेपालका लागिटी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक ठुलो रनको साझेदारी हो ।
यस्तै पारस नेपालका लागि सर्वाधिक चाँडो शतक बनाउने खेलाडी समेत बने ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
जिम्बावे एक खेलबाट २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
एक खेलबाट अंक विहिन सिंगापुर तालिकाको पुछारमा छ ।
सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ ।