काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरलाई हराएको छ ।
कप्तान पारस खड्काकाे कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो ।
ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका हुन् ।
टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका पारसले ५२ बलमा नटआउट १ सय ६ रन बनाए ।
उनले ९ छक्का र ७ चौकाको मदतले सो रन बनाएका थिए । उनलाई आरिफले ३९ रनमा अविजित रहदै साथ दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।
सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए ।
नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
जिम्बावे एक खेलबाट २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
एक खेलबाट अंक विहिन सिंगापुर तालिकाको पुछारमा छ ।
सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ ।
सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।