काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज (बुधबार) तेस्रो अभ्यास खेल खेल्दैछ ।
नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब इष्ट लन्डन ११ विरुद्ध तेस्रो अभ्यास खेल खेल्न लागेको हो । नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने नेपाल र इष्ट लन्डन ११ बीचको खेल ५० ओभरको खेल हुनेछ । यसअघि नेपालले ५० ओभरको पहिलो अभ्यास खेलमा ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए । तर, दोस्रो अभ्यास खेलमा नेपाल पराजित भएको थियो । टी - ट्वान्टी अन्तर्गत भएको दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससंग १९ रनले पराजित भएको थियो ।
इष्ट लन्डनपछि अब नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग बिहिबार एक टी-ट्वान्टी खेल खेल्नेछ । उक्त अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।