एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलका युवा खेलाडी माल्कोमलाई अनुबन्ध गरेको छ । विंगर माल्कोमलाई बार्सिलोनाले फ्रेन्च क्लब बोर्डुअक्सबाट क्लबमा भित्र्याएको हो ।
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले माल्कोमलाई ३६.५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो । माल्कोमले बार्सिलोनासंग पाँच बर्षे सम्झौता गरेका हुन् । इटालियन क्लब रोमा जान तयार भएका माल्कोमलाई बार्सिलोनाले अप्रत्यासित रुपमा क्लबमा अनुबन्ध गरेको हो ।
स्वास्थ्य परिक्षणको लागि रोमा जान तयार भएका माल्कोमलाई बार्सिलोनाले बढी भाउ लगाएरमा क्लबमा अनुबन्ध गरेको हो । माल्कोमको लागि रोमा र बोर्डुअक्सबीच ३५.५ मिलियन पाउण्डको सहमति समेत भईसकेको थियो । तर, बार्सिलोनाले माल्कोमको लागि ३६.५ मिलियन पाउण्ड तिर्ने भएपछि बोर्डुअक्सले अन्तिम समयमा आएर सम्झौता रद्द गरेको हो ।
बार्सिलोनासंगको सम्झौतापछि माल्कोमले बाल्यकालको सपना पुरा भएको बताए । माल्कोमले भनेका छन्, 'बार्सिलोना विश्वकै महान क्लब हो । मेरो बच्चाको सपना विपनामा परिणत भएको छ । मलाई आशा छ मैले मेरो समर्थकलाई खुशी बनाउने छ । म क्लबबाट खेल्नको लागि प्रतिक्षा गर्न सकिरहेको छैन । म यहाँ मेरै स्टाइलमा टिमलाई सहयोग गर्न आएको हो ।'
निकै छिटो र स्किलफुल मानिने माल्कोमले ब्राजिलको सिनियर टोलीबाट खेलेका छैनन् । तर, अट्याकिङ मिडफिल्डर माल्कोमले फ्रेन्च लिग वनमा ९६ खेल खेल्दै २३ गोल गरिसकेका छन् ।