काठमाडौं । सिंगापुरमा जारी तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
इन्डियन एसोसियसनको मैदानमा नेपालले जिम्बावेलाई १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो । नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए ।
सोमपाल कामीले अविजित २५ रन बनाउदा विनोद भण्डारी ११ रनमा अविजित रहे ।
यस्तै कप्तान पारस खड्काले १८ तथा सन्दीप जोराले १७ रन बनाए ।
जिम्बावेविरुद्धको खेलमा नेपालका दुई खेलाडीले डेब्यु गरे । ईशान पाण्डे र कुशल मल्लले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । ईशान ४ र कुशल २ रनमा आउट भए । आरिफ शेख ८ रनमा आउट भए ।
जिम्बावेका सिन विलियम्सले २ विकेट लिए । यस्तै नेभिले माड्जिभा, विलिङटन मासाकाड्जा, रायन ब्रुल र टेण्डाई चतराले एक एक विकेट लिए ।
सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।