काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
इन्डियन एसोसियसनको मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सुरुवातमा जिम्बावेले फिल्डिङ गर्ने भएको छ ।
जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर, युवा खेलाडीले भरिएको जिम्बावेविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।
नेपाल र जिम्बावेबीच टी-ट्वान्टी क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । एकदिवसीयमा भने नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गरिसकेको छ ।
सन् २०१८ को मार्चमा भएको विश्वकप छनोटमा नेपालले जिम्बावेसँग खेलेको थियो । जहाँ नेपालले ११६ रनको हार व्यहोरेको थियो । सिंगापुरमा भने नेपाल त्यस हारको बदला लिने दाउमा हुनेछ ।
सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।