काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा नेपालकै पहिलो महिला फुटबल एकेडमी बन्ने भएको हो । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले स्वीकृति दिएपछि रौतहटमा सुविधा सम्पन्न महिला फुटबल एकेडमी बन्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले तीन तले एकेडमी भवन बनाउन फिफा स्वीकृति दिएको खेलपाटीलाई बताए । प्रवक्ता राईले खेलपाटीलाई भने, 'फिफालाई हामीले बुझाएको योजनालाई स्वीकृत गरेको छ । अब चाडै एकेडमी निर्माणको कार्य अघि बढ्नेछ ।'
कुल ३ करोडको लागतमा बन्न लागेको एकेडमीमा सुविधा सम्पन्न होस्टेलसहित फुटबल मैदान रहने छ । उक्त एकेडमीमा करिब ६० महिला खेलाडी अटाउन सक्ने छन् । एकेडमीको लागि रौतहट चन्द्रनिगाहपुर उपमहानगरपालिकाले ६ बिघा जग्गा उपलब्ध गराईसकेको समेत एन्फा प्रवक्ता राईले जानकारी गराए ।
एकेडमी निर्माणको लागि एन्फाले चाडै टेन्डर प्रकिया सुरु गर्ने जनाएको छ । प्रवक्ता राईका अनुसार टेन्डरको लागि डकुमेन्ट तयार भैरहेको बताए ।