काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ ।
नेपाली टोलीलाई बुधबार साँझ राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश सिलवालले विदाई गरे । नेपाली टिम आज राति १०:१५ बजे सिंगापुर प्रस्थान गर्ने छन् ।
खेलाडीको विदाई गर्दै सदस्य सचिव सिलवालले खेलाडीलाई नतिजा निकाल्ने गरि प्रदर्शन गर्न सुझाब दिए ।
'सिरिजमा नेपालले गर्ने प्रर्दशनले क्रिकेटकाे दिशा तय गर्छ । पिचको कन्डिसन अनुसार प्रर्दशन गर्न अनुराेध गर्छु,' सदस्य सचिव सिलवालले भने, 'हरेक दिन हरेक ओभर महत्वपूर्ण हुन्छ । खेलाडीलाई नजिता निकाल्ने गरि खेल्न अनुराेध गर्छु ।'
सिंगापुर क्रिकेटको आयोजनामा हुने टी-ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको लागि नेपालले गत बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।
नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ ।
यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा अटाएका छैनन् ।
नेपाली टोली :
पारस खड्का (कप्तान)
दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप लामिछाने
अभिनास बोहोरा
कुशल मल्ल
आरिफ शेख
सुशन भारी
ईशान पाण्डे
सन्दीप जोरा
रोहित कुमार पौडेल