एजेन्सी । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका फरवार्ड लोरी सानेले इन्ग्लिश प्रिमियर लिगको उपाधि यात्रामा चेल्सीले सबैभन्दा बढी चुनौती दिने बताएका छन् । प्रि सिजनको लागि सिटीको टिमसंग अमेरिकामा रहेका सानेले बिबिसीसंग कुरा गर्दै आफ्नो क्लबको उपाधि यात्रामा चेल्सी खतरा रहेको बताएका हुन् ।
जर्मनीका युवा फरवार्ड सानेले चेल्सीले मौरीजियाने सारीलाई नियुक्त गरेपछि चेल्सी बलियो बनेको बताए । सानेले बिबिसीसंग भनेका छन्, 'चेल्सीले उत्कृष्ट प्रशिक्षक भित्र्याएको छ । नेपोलीले गत सिजन निकै राम्रो खेलेको थियो । उनीहरुविरुद्ध हामी पीडित थियौं । उनीहरुलाई त्यो रणनीति प्रयोग गर्न समय लाग्छ तर उनीहरु एक कठिन टिम बन्न सक्छन् ।'
यो सिजन सिटीको लागि सबैभन्दा ठुलो प्रतिद्वन्दी को हुनेछ भन्ने प्रश्नमा सानेले भने, 'मेरो विचारमा चेल्सी खतरा हुनेछ ।'
इटालियन क्लब नेपोलीका प्रशिक्षक सारीलाई चेल्सीले दुई साता अघि क्लबमा ल्याएको थियो । सारीकै प्रशिक्षणमा रहेको नेपोलीविरुद्ध सिटीले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणमा खेलेको थियो । पहिलो लेगमा सिटीले नेपोलीलाई २-१ र दोस्रो लेगमा ४-२ ले हराएको थियो ।
म्यानचेस्टर सिटी हाल अमेरिकामा प्रि सिजनको तयारी गरिरहेको छ । प्रि सिजनमा रहेको सिटीको खेलाडीमा साने सिनियर मध्येका एक खेलाडी हुन् । रुसमा सम्पन्न विश्वकपमा जर्मनीको टोलीमा पर्न असफल साने अमेरिकामा सिटीका मुख्य खेलाडी बनिरहेका छन् ।