एजेन्सी । गत साता इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको मेडिकल रिपोर्ट सार्वजनिक भएको छ । र, मेडिकल रिपोर्टमा रोनाल्डोबारे निकै रोचक तथ्य बाहिर आएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
मिरर अनलाइनको अनुसार मेडिकल रिपोर्टमा रोनाल्डो वास्तविक उमेरभन्दा १३ बर्ष कान्छा देखिएको जनाएको छ । हाल ३३ बर्ष पुगेका रोनाल्डोको मेडिकल गर्दा शारीरिक अवस्था २० बर्षीय युवा खेलाडीको जस्तो पाइएको मिररले उल्लेख गरेको छ ।
रोनाल्डोको मोटाई, मांसपेशी र गतीको जाँचपछिको रिपोर्ट अनुसार रोनाल्डोको शारीरिक क्षमता १३ बर्ष कान्छाको जस्तै देखिएको उल्लेख गरिएको छ । रिपोर्ट अनुसार रोनाल्डोको शरीरको बोसो ७ प्रतिशत रहेको छ । जुन अन्य खेलाडीको भन्दा ३ प्रतिशतले कमी हो ।
यस्तै रोनाल्डोको मांसपेशीको तौल औषत खेलाडीभन्दा ४ प्रतिशतले बढी ५० प्रतिशत रहेको छ । त्यस्तै रोनाल्डोको गति ३३.९८ किमी रहेको छ । जुन गति रुस विश्वकपमा मापन गरिएको खेलाडीको भन्दा छिटो रहेको छ ।
पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडबाट १०५ मिलियन पाउण्डमा युभेन्ट्स आएका थिए । सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोले रियलसंगको अनुबन्ध सम्झौता ३ बर्ष बाँकी छदै युभेन्ट्स गएका हुन् ।
९ बर्ष क्लबमा बिताएका रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।