सुनसरी । आयोजक फुलबारी क्रिकेट क्लबले इनरुवामा जारी दोस्रो मेयर कप नाइट टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
सोमबार साँझ भएको खेलमा दुहबीलाई ११९ रनको फराकिलो अन्तरले हराउँदै आयोजक फुलबारीले शानदार सुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको फुलबारीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०९ रनको उच्च योगफल बनाएको थियो । फुलबारीका लागि मिनाश थापाले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ्स खेले । ५२ बलको सामना गरेका थापाले ६ छक्का र ७ चौकाको मद्दतमा ८४ रन बनाए ।
त्यसैगरी फिरदोस अन्सारीले र पुष्प थापाले २५/२५ रनको योगदान दिए भने सोनु मण्डल १७ रनमा नटआउट रहे । दुहबीका सुर्य भगतले २ विकेट लिए ।
फुलबारीले दिएको २०९ रनको लक्ष्य पछ्याएको दुहबी १७ ओभर ५ बलमा ९० रनमा अलआउट भयो । दुहबीका लागि सकिब हकले १७ तथा उदय यादव र सन्तोष मलिकले १६/१६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
फुलबारीका सरोज बस्नेतले ५ विकेट लिए । यस्तै मिनाश थापा र पुष्प थापाले २/२ विकेट हात पारे ।
प्रतियोगितामा ३ विभागीय सहित १६ टोलिको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार एपीएफले सप्तरी-११ संग प्रतिस्पर्धा गर्नेछ ।