एजेन्सी । जर्मन फुटबल एसोसिएसन (डीएफबी) ले जर्मनीका पुर्व मिडफिल्डर मेसुट ओजिलले आफुलाई नस्लवादको शिकार बनाएको र अपमान गरेको आरोपको खण्डन गरेको छ । सोमबार राति एक विज्ञप्ति निकाल्दै डीएफबीले ओजिलको आरोप अस्वीकार गरेको हो ।
इन्ग्लिश क्लब आर्सनलका फरवार्ड ओजिलले आइतबार फुलाई नस्लवादको शिकार बनाएको र अपमान गरेको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । सन्यासको घोषणा गर्दै उनले आफुलाई घृणा र धम्कीपूर्ण भाषाको इमेल आएको र रुस विश्वकपमा आफुलाई मात्र मुख्य दोषी बनाइएको उल्लेख गरेका थिए ।
यस्तै २९ बर्षिय ओजिलले जर्मनीले जित्दा मात्र आफु जर्मन भएको तर पराजित हुँदा आफु आप्रवासी हुने गरेको गुनासो गरेका थिए । तर, डीएफबीले ओजिलको आरोपलाई खण्डन गर्दै खेलाडीलाई दुर्व्यवहारबाट जोगाउन काम गरिरहेको बताएको छ ।
डीएफबीले भनेको छ, 'नस्लवादसंग जोडिएको कुरालाई डीएफबी अस्वीकार गर्दछ । डीएफबी जर्मनीको एकीकरणमा धेरै बर्षबाट काम गर्दै आएको छ ।'
रुस विश्वकपमा उच्च प्रदर्शन गर्न नसकेपछि आलोचना खेपेका ओजिल पछिल्लो समय टर्कीका राष्ट्रपतिसंगको भेटले थप आलोचित बनेका थिए । रुस विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।
टर्की मूलका ओजिलले टर्कीका राष्ट्रपति रिसेप इर्डोगनलाई भेटेपछि उनी विवादमा तानिएका थिए । जर्मनीका दलहरुले ओजिलले टर्कीको समर्थन गरेको आरोप लगाउदै आएका थिए । तर, ओजिलले राष्ट्रपतिसँग तस्वीर खिच्न नमान्दा आफुले आफ्ना पुर्खाको थलोको अपमान गरेको महसुस भएको कारण तस्वीर खिचेको बताउदै आएका थिए ।
सन् २००९ मा जर्मनीको टोलीमा डेब्यु गरेका ओजिलले राष्ट्रिय टोलीका लागि ९२ खेल खेलेका थिए । राष्ट्रिय टोलीका लागि २३ गोल गरिसकेका ओजिल सन् २०१४ को विश्वकप जित्दा जर्मनीका मुख्य खेलाडी रहेका थिए । पाँच पटक जर्मन प्ल्येर अफ दि इयर चुनिएका ओजिलले सन् २०१२ र २०१६ को युरोकप समेत खेलेका थिए ।