काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा आज (सोमबार ) राति जमैका तालेवाजविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
ब्रिजटाउनमा हुने बार्बाडोस र जमैकाबीचको खेल नेपाली समय अनुसार विहान ३:४५ मा सुरु हुनेछ । जमैकाविरुद्ध मैदान उत्रदा बार्बाडोस तेस्रो जितको खोजीमा हुनेछ ।
पाँच खेलमा २ जित र ३ हार व्यहोरेको बार्बाडोस ४ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ । जित निकाल्दै बार्बाडोस शीर्ष तीन टोलीसँग अंक दुरी कम गर्न चाहन्छ ।
जमैका दोस्रो जितको खोजीमा हुनेछ । जमैकाले ७ खेलमा २ अंक जोडेको छ । र, तालिकाको पुछारमा रहेको छ ।
जमैकाविरुद्धको खेलमा युवा लेग स्पिनर सन्दीप टिममा पर्ने सम्भावना बलियो रहेको छ । अघिल्ला खेलमा उच्च प्रदर्शन गरेको कारण सन्दीप प्लेईङ-११ मा पर्ने सम्भावना बलियो रहेको छ ।
सन्दीपले यस सिजन ५ खेलमा ६ विकेट हात पार्न सफल भईसकेका छन् । सन्दीपको यस खेल अन्तिम खेल हुनेछ । यस खेलपछि सन्दीप राष्ट्रिय टिममा सामेल हुन सिंगापुर आउने छन् ।
नेपालले सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ । सिरिजका लागि नेपालले बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् ।