एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले युक्रेनी युवा गोलकिपर एन्ड्री लुनिनलाई क्लबमा भित्र्याएको छ । रियलले सोमबार लुनिनलाई क्लबको खेलाडीको रुपमा सार्वजनिक गरेको थियो ।
युक्रेनका १९ बर्षिय लुनिनले रियलसंग ६ बर्षे सम्झौता गरेका छन् । लुनिनलाई रियलले युक्रेनी क्लब जोर्या लुहान्स्कबाट १४ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
लुनिनले युक्रेनी राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । उनले युक्रेनको सिनियर टोलीबाट दुई खेल खेलेका छन् । यस्तै उनले उमेर समूहको साबि खेल खेलेका छन् ।
लुनिनलाई अनुबन्ध गरेसंगै रियलले यो सिजन दुई युवा खेलाडीलाई क्लबमा भित्र्याउन सफल भएका छन् । यसअघि रियलले ब्राजिलका १८ बर्षीय फरवार्ड भिनिसस जुनियरलाई ६ बर्षको लागि क्लबमा अनुबन्ध गरेको थियो ।