एजेन्सी । पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले हराएको हो ।
बैंगलोरमा भारतले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर ५ बममा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा कप्तान क्विनटन डी ककले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रिजा हेनड्रिक्सले २८ तथा टेम्बा भाबुमाले अविजित २७ रन जोडे ।
भारतका हार्दिक पाण्डयले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ३६ तथा ऋषब पन्त र रविन्द्र जडेजाले १९/१९ रन जोडे ।
दक्षिण अफ्रिकाका कागीसो राबडाले २ विकेट लिए । यस्तै ब्युरण हेनड्रिक्स र कार्ल फोर्टुनले २/२ विकेट लिए ।
यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
यसअघि पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । दोस्रो खेल भारतले ७ विकेटले जितेको थियो ।
अब दुई टोलीले तीन खेलको टेष्ट र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।