काठमाडौं । कीर्तिपुरस्थित टियु अन्तराष्ट्रिय क्रिकेट मैदानको इन्डोर हलमा 'एस्ट्रो टर्फ' राखिएको छ । खेलाडीलाई इन्डोर हलमा प्रशिक्षणका लागि सहज बनाउने उदेश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हलमा टर्फ राखेको हो ।
राखेपले टियु मैदानको स्तर उन्नती गर्ने कार्य अन्तर्गत इन्डोर हलमा टर्फ राखेको हो । राखेपका सदस्य शैलेश कर्माचार्यले पहिलो चरणमा मैदानको इन्डोर हलमा टर्फ राखिएको र मैदानको अन्य भागको पुनः निर्माण विस्तारै हुने जानकारी गराए ।
'करिब १ करोडको बजेटमा मैदान व्यवस्थापन गरिनेछ । अहिले टर्फ हालेर सकिएको छ,' कर्माचार्यले खेलपाटीसँग भने, 'अब नयाँ स्कोर बोर्ड समेत हालिने छ । डिजिटल स्कोर बोर्ड २/३ करोड लाग्ने भएकाले यो पटक नयाँ म्यानुअल स्कोर बोर्ड हाल्ने भएका छौ ।'
खेलाडीले टर्फसहितको इन्डोर हलमा प्रशिक्षण समेत सुरु गरिसकेका छन् । हलमा टर्फ राखेसँगै खेलाडीलाई जुन सुकै मौषममा पनि प्रशिक्षण गर्न सजिलो भएको राष्ट्रिय टिमका पूर्व प्रशिक्षक जगत टमटाले बताए ।
'अब खराब मौषमको समय पनि खेलाडीले भित्रनै अन्य फिल्डिङ, फिटनेस जस्ता अभ्यास गर्न सजिलो हुन्छ,' टमटाले खेलापाटीसँग भने ' यसमा फरक फरक तरिकाको ब्याटिङ अभ्यास समेत गर्न सकिने छ । पिचमा हुने विभिन्न खालका बल बाउन्स देखि ट्रनको भेराईटी हुनेछ ।'
टर्फका लागि पाँच लाख खर्च लागेको समेत टमटाले बताए ।
'करिब ५ लाखमा यसको काम सकिएको छ । सदस्य सचिवलाई धेरै धन्यवाद छ । उहाँलाई हामीले एक पटक भन्ने बित्तिकै काम गरिदिनु भएको छ,' टमटाले थपे ।