काठमाडौं । युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जितका लागि १६९ रनको लक्ष्य पाएको छ ।
इंग्ल्यान्डको स्थानीय क्लब सेन्ट क्रसले नेपाललाई १६९ रनको लक्ष्य दिएको हो । नेपालले जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले पुरै २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको छ । सेन्ट क्रसका जिमी एडम्सले ७२ रन जोड्दा फेलिक्स ओर्गनले ३९ रन जोडे । यस्तै टम स्किर्भिनले २३ रन जोडे । नेपालका सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट हात पारे ।
इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एक दिवसीय क्रिकेट सिरिजकालागि युरोप भ्रमणमा रहेको नेपालले सेन्ट क्रससंग अभ्यास खेल खेलिरहेको छ ।
यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए ।