सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा सुरु दोस्रो मेयर कप रात्रीकालीन टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा जनकपुरले विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको उद्घाटन खेलमा जनकपुरले चितवन क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
सदरमुकाम इनरुवास्थित जेल फिल्डको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय १६ रन बनाएको थियो ।
बिकल गुप्ताले ३३ रन बनाएको ईनिङ्समा दिपेश श्रेष्ठले २३ रन बनाएका थिए ।
बलिङतर्फ जनकपुरका हरिशंकर शाहले ४ ओभरमा १ मेडेन सहित १२ रन खर्चेर ४ विकेट लिएका थिए । संजय यादव र विशाल सुसलिङले १÷१ विकेट लिएका थिए ।
१ सय १७ रनको मध्यम चुनौती जनकपुरले १३ दशमलव २ ओभरमा पुरा गर्यो ।
जनकपुरलाई सहज जित दिलाउन ओपनर हरिशंकर शाहले उत्कृष्ट ब्याटिङ गरे । ४४ बलको सामना गरेका शाहले ८ चौका र २ छक्काको मदतले ६४ रनको पारी खेले ।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
फुलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा सुरु प्रतियोगितामा तीन विभागीय सहित १६ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।