काठमाडौं । क्यारेबियन क्रिकेट लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्रिडेन्टले सेन्ट लुसिया जुक्सलाई ७१ रनले पराजित गरेको छ ।
ग्रोस आइस्लेटमा बार्बाडोसले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको लुसिया जुक्स १४ दशमलव ५ ओभरमा १ सय १ रनमा समेटियो ।
कोलिन डी ग्रान्डहोमले सर्वाधिक २८ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।
निकै कसिलो बलिङ गरेका नेपालका सन्दीप लामिछानेले एक विकेट लिए । उनले ३ ओभर ५ बल बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका थिए । यस्तै जोसुवा बिशोप र जासन होल्डरले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
जस्टिन ग्रिव्सले सर्वाधिक ५७ रन बनाएका थिए । जोनाथन कार्टरले ३० र जोनसन चार्लिसले २८ रन बनाएका थिए ।
जुक्सका केसरिक विलियम्सले सर्वाधिक ३ विकेट लिएका थिए ।
जितसँगै बार्बाडोसले ४ खेलमा ४ अंक जोडेको छ । र, लिगको चौंथो स्थानमा उक्लिएको छ । ५ खेलबाट २ अंक जोडेको जुक्स पाँचौं स्थानमा छ ।