मिकाईल आलम
सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा आजबाट दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
उद्घाटन खेलमा जनकपुरले चितवन क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।
खेल साँझ ५ बजेपछि इनरुवाको जेल फिल्डको मैदानमा हुनेछ ।
यसपटक प्रतियोगितालाई आधुनिक शैलीमा रुपान्तरण गरी संचालनमा गर्न लागिएको आयोजक फूलबारी क्रिकेट क्लब इनरुवाले जनाएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन आज शनिबार दिउँसो २ बजेपछि गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष शिव यादवले बताए ।
फूलबारी क्रिकेट क्लब इनरुवाले आयोजना गर्न लागेको प्रतियोगितामा तीन विभागीय सहित १६ वटा टिमले प्रतिष्पर्धा गर्दै छन् ।
सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।
समूह ए मा जनकपुर,चितवन, इटहरी, धरान, दुहवी, आयोजक फूलबारी, सप्तरी र एपीएफ रहेका छन् भने समूह बी मा नेपाल पुलिस, प्रदेश नम्वर ७ , नेपाल आर्मी, बिरगञ्ज, धनगडी, बिर्तामोड, काठमाण्डौं र झापा रहेका छन् ।
प्रतियोगिताको बिजेताले उपाधि सहित २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
फाइनल असोज १८ गते हुने तालिका रहेको छ ।
अघिल्लो सिजन मैदानमा गएर निशुल्क खेल हेरेका दर्शकले यसपटक भने टिकट लिनुपर्नेछ । आयोजकले प्रतियोगिता व्यवस्थापनका लागि टिकट दर कायम गरिएकाे जनाएको छ ।