काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्व आएपछि नेपाल क्रिकेटमा स्थापित देश बन्ने बताएका छन् ।
सिंगापुरमा आयोजना हुने त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टिमको घोषणा कार्यक्रममा बोल्दै कप्तान पारसले संघ आएपछि नेपाल क्रिकेटमा स्थापित राष्ट्रको रुपमा अघि बढ्ने बताए ।
क्यान पछिल्लो ४ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा रहेको छ । तर, आईसीसीको फुकुवा र नयाँ नेतृत्व चयनको लागि क्यानको निर्वाचन असोज १० र ११ गते काठमाडौंमा हुँदैछ । उक्त निर्वाचनबाट आउने नयाँ नेतृत्वले नेपाली क्रिकेटलाई उचाई दिने कप्तान पारसले बताए ।
'हामी सबै चरण पार गरेर अन्तिम चरणमा रहेका छौँ । बोर्डमा जो पनि आउनु हुन्छ उहाहरुले आफ्नो जिम्मेवारी निभाउनु हुनेछ,' कप्तान पारसले भने, 'बोर्डमा आईसकेपछि उहाहरुले क्रिकेट खेल र खेलाडीलाई सबै भन्दा बढी प्राथमिकतामा राखेर अघि बढ्नु हुनेछ । र, खेलाडी र क्रिकेटलाई प्राथमिकता राखेर अघि बढे हामी आगमी दिनमा स्थापित राष्ट्रको रुपमा उभिने छौँ ।'
क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ को वैशाख १३ गतेबाट क्यानलाई निलम्बन गरेको थियो । त्यसयता नेपाली क्रिकेट आईसीसीले हेर्दै आएको छ ।
कप्तान पारसले सन् २०२३ को एकदिवसीय विश्वकपलाई लक्षित गरेर अहिलेको युवा टिम तयार गरिएको समेत बताए ।
नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ । यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा अटाएका छैनन् ।
यस्तै कप्तान पारसले सन् २०२३ को विश्वकपसम्म आफु टिममा नहुने संकेत पनि गरेका छन् । आफ्नो फिटनेसको कारण त्यसबेलासम्म टिममा नपर्ने पारसको भनाई छ ।
'त्यसबेलासम्म मलाई कठिन छ । अबको केहि वर्ष आफुलाई अघि बढाउदै लैजाने छु । फिटनेस र प्रदर्शन राम्रो भए हुनेछु । अहिलेको अवस्थामा मैले आफुलाई त्यहाँसम्म देखेको छैन ।'