एजेन्सी । जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । आइतबार राति एक विज्ञप्ति निकाल्दै ओजिलले सन्यास घोषणा गरेका हुन् ।
इन्ग्लिश क्लब आर्सनलका प्ले मेकर ओजिलले सन्यास घोषणा गर्दै लेखेका छन्, 'भारी हृदय, धेरै सोचविचार र पछिल्लो घटनाक्रमपछि मैले जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने निर्णय गरे । किनकी मलाई नस्लवाद र अनादर अनुभव भयो ।'
रुस विश्वकपमा उच्च प्रदर्शन गर्न नसकेपछि आलोचना खेपेका ओजिल पछिल्लो समय टर्कीका राष्ट्रपतिसंगको भेटले थप आलोचित बनेका थिए । रुस विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । टर्की मूलका ओजिलले टर्कीका राष्ट्रपति रिसेप इर्डोगनलाई भेटेपछि उनी विवादमा तानिएका थिए । जर्मनीका दलहरुले ओजिलले टर्कीको समर्थन गरेको आरोप लगाउदै आएका थिए ।
यस्तै विश्वकपमा उनको प्रदर्शनको पनि निकै आलोचना भईरहेको थियो । र, यहिँ आलोचनाकाबीच ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । तर, ओजिलले यो निर्णय आफ्नो लागि निकै कठिन भएको समेत बताए । ओजिलले भनेका छन्, 'एक उत्साह र गर्वका साथ जर्मनीको जर्सी लगाउने गर्थे । तर, अब लगाउने छैन । यो निर्णय मेरो लागि कठिन हो किनभने मेरो टिममेट, प्रशिक्षक र जर्मनीका असल जनताले मलाई सबै दिएका थिए ।'
यस्तै ओजिलले टर्कीको राष्ट्रपतिसंगको आफ्नो भेटबारे राजनीतिक स्वार्थ पुरा गर्न प्रोपोगान्डा मच्चाएको बताए ।
सन् २००९ मा जर्मनीको टोलीमा डेब्यु गरेका ओजिलले राष्ट्रिय टोलीका लागि ९२ खेल खेलिसकेका छन् । राष्ट्रिय टोलीका लागि २३ गोल गरिसकेका ओजिल सन् २०१४ को विश्वकप जित्दा जर्मनीका मुख्य खेलाडी रहेका थिए । पाँच पटक जर्मन प्ल्येर अफ दि इयर चुनिएका ओजिलले सन् २०१२ र २०१६ को युरोकप समेत खेलेका थिए ।