एजेन्सी । घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानले क्लिन स्विप गरेको छ । आइतबार भएको पाँचौ तथा अन्तिम एकदिवसीयमा १३१ रनको जित निकाल्दै पाकिस्तानले सिरिज ५ – ० ले बनाएको हो ।
बुलावायोमा दुई खेलाडीले शतक बनाएपछि पाकिस्तानले घरेलु टोलीलाई जितका लागि ३६५ रनको लक्ष्य दिएको थियो । इमाम उल हक र बाबर अजमले शतक बनाएपछि पाकिस्तानले पुरै ५० ओभरमा ३६४ रन बनाएको थियो । पाकिस्तानको उच्च स्कोरमा उल हकले ११० रन जोड्दा अजमले अविजित १०६ रन बनाए ।
यस्तै फखर जमानले ८५ रनको योगदान दिए । योसंगै जमानले सर्वाधिक कम एकदिवसीय खेलमा १ हजार रन पुरा गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । जमानले मात्र १८ खेलमा १ हजार रन पुरा गरेका हुन् । यसअघि चार खेलाडीले २१ खेलमा हजार रन बनाएका थिए । उनले पछिल्लो पाँच खेल मै ५१५ रन जोडेका थिए ।
पाकिस्तानले दिएको ३६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले पुरै ५० ओभर खेल्दै ४ विकेट गुमाएर २३३ रन बनाउन सक्यो । जिम्बावेका लागि रायन मुर्रेले ४७ रन जोड्दा पिटर मुरले अविजित ४४ रन जोडे । यस्तै प्रिन्स मासभरुनेले ३९ रन तथा तिनासे स्टेफेन र कप्तान कप्तान ह्यामिल्टन मुसाकाज्दाले समान ३४/३४ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । मोहमद नवाज र हसन अलीले समान २-२ विकेट लिए ।
योसंगै जिम्बावे भ्रमणमा रहेको पाकिस्तानले दुई सिरिज जितेको छ । पाकिस्तानले यसअघि अष्ट्रेलिया सम्मलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जितेको थियो ।