काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् ।
गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मेलवर्नले सन्दीपलाई यस सिजनको लागि पुनः अनुबन्ध गरेको छ । मेलवर्नले आइतबार सामाजिक संजाल ट्वीटरबाट सन्दीपले लगातार दोस्रो सिजन क्लबबाट खेल्ने जानकारी गराएको छ ।
सन्दीपले यस सिजन पुरै बीबीएल खेल्नेछन् । गत सिजन भने बीचमा सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न गएको थियो ।
क्यारेबियन क्रिकेट लिग (सीपीएल) मा व्यस्त सन्दीप र क्लबबीच औपचारिक सम्झौता भने भएको छैन ।
गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए ।
गत सिजन मेलवर्न फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो ।