एजेन्सी । त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत अफगानिस्तानले जिम्बावेलाई पराजित गरेको छ । ढाकामा शनिबार राति भएको खेलमा अफगानिस्तानले जिम्बावेलाई २८ रनले हराएको हो ।
अफगानिस्तानले दिएको १९८ रनको लक्ष्य पछ्याएको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । जिम्बावेका लागि रेगिस चाकाबभाले अविजित ४२ रन जोड्दा ब्रेन्डन टेलरले २७ रन बनाए ।
त्यस्तै रायन ब्रुलले २५ तथा टीनोतेण्डाले २० रन बनाए । अफगानिस्तानका फारेद अहमेद र राशिद खानले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रानले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । रहमानउल्लाह गुर्बाजले ४३ तथा मोहमद नाभिदले ३८ रन बनाए ।
जिम्बावेका टेण्डाइ छतरा र सिन विलियम्सले २/२ विकेट लिए ।
जितसँगै अफगानिस्तानले २ अंक जोडेको छ । जिम्बावेको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा जिम्बावे आयोजक बंगलादेशसँग पराजित भएको थियो ।