राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज समूह ए को विजेता त्रिभुवन आर्मी र समूह बीको उपविजेता प्रदेश नम्बर ५ आमने सामने हुँदै छन् ।
दुईबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी अहिलेसम्म अपराजित टोली हो । समूह ए बाट एपीएफलाई हराउँदै समूह विजेता बनेको आर्मीमा राष्ट्रिय टोलीका खेलाडीका साथै युवा खेलाडीको बाहुल्यता छ ।
त्यस्तै राष्ट्रिय टोलीका भेट्रान बलर शक्ति गौचनको नेतृत्वमा रहेको प्रदेश नम्बर ५ मा प्रदेशका प्रतिभावान युवा खेलाडीहरुको सहभागिता छ । प्रदेश ५ ले समूहमा एउटा पराजय ब्यहोरेको थियो । पुलिससँग पराजित भएको प्रदेश ५ ले दुई खेल जितेको थियो भने एउटा खेल वर्षाका कारण रद्ध भएपछि अंक बाँडेको थियो ।
शनिबार दोस्रो सेमिफाइनल दुई बिभागीय टिमहरुबीच हुनेछ । एपीएफ र नेपाल पुलिसको बिभागीय डर्बी पनि बिहान ९ बजेदेखि टियू मैदान कीर्तिपुरमा हुनेछ ।
पहिलो पटक संघीय संरचनाअनुसार खेलाइएको प्रतियोगितामा पुलिस, आर्मी र एपीएफ गरी तीन बिभागीय टोलीका साथै सात प्रदेशका टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेता टोलीले २० लाख पुरस्कार पाउनेछ भने उपविजेताले १० लाख पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउँदा उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ ।