एजेन्सी । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ ।
शनिबार भएको रोमान्चक फाइनलमा बंगलादेशलाई ५ रनले हराउँदै भारत च्याम्पियन बनेको हो । योसँगै भारतले सातौं पटक यू-१९ एसिया कपको उपाधि जित्न सफल भएको छ ।
कोलम्बोमा भारतले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ३३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो । बंगलादेशका लागि कप्तान अकबर अलीले २३ रन जोडे । यस्तै मृतुनजोय चौधरीले २१ तथा तान्जिम हसन सकिबले १२ रन बनाए ।
जित नजिक पुगेको बंगलादेशलाई सस्तैमा समेट्न भारतका अथर्भा अन्कोलेकारले ५ विकेट लिए । उनले जसम २८ रन खर्चिए । यस्तै आकाश सिंहले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ३२ ओभर ४ बलमा अलआउट हुँदै १०६ रनमा समेटिएको थियो । भारतका लागि करण लालले सर्वाधिक ३७ तथा कप्तान ध्रुब चन्द जुरेलले ३३ रन बनाए ।
त्यस्तै साश्वत रावतले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बंगलादेशका मृतुनजोय चौधरी र सामिम होसेनले ३/३ विकेट लिए ।
सेमिफाइनलमा भने दुवै टोलीले भाग्यमानी बन्दै फाइनलमा भेट पक्का गरेका हुन् । बिहिबार वर्षाले दुवै सेमिफाइनल खेल रद्द भएपछि भारत र बंगलादेश समूह विजेताको रुपमा फाइनल पुगेका थिए ।