काठमाडौं । कैलाली जिल्ला क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको निर्वाचन नरोक्न अपील गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्यान निर्वाचन रोक्न निर्देशन दिएपछि संघले प्रेस विज्ञप्ति निकाल्दै निर्वाचन नरोक्न अपील गरेको हो । यस्तै राखेपको कार्यले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
'स्वतन्त्र कमिटिले असोज ३ र ४ गते आह्वान गरेको क्यानको साधारणसभा राखेपले नियमसंगत नभएको भन्दै रोक्न निर्देशन दिएको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,' अध्यक्ष बिक्रम बिष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'तय भएको निर्वाचनले नेपाली क्रिकेटले गति लिने र निर्वाचन पछि क्यानको निलम्बन फुकुवा हुने भएकाले क्रिकेटको दीर्घकालीन समस्याको निकास निकाल्ने समयमा विवादित क्रियाकलाप गरि विवाद समाधानको बाटो नरोक्न सबै पक्षलाई सचेत गर्दछौं ।'
यस्तै खेलकुदको सर्वोच्च निकायले विवाद समाधान गर्नुको सट्टा अवरोध गर्ने कार्य गरेको भन्दै संघले उक्त कार्यमा समर्थन जनाउन नसक्ने जनाउदै र क्रिकेटको दीर्घकालीन समस्या समाधानको पक्षमा उभिन सबैलाई अनुरोध गरेको छ ।
आईसीसीले गठन गरेको स्वतन्त्र समितिले क्यानको केन्द्रीय निर्वाचन असोज ३ र ४ गते गर्ने निर्णय गरेको छ । तर, आफुसंग स्वीकृति नलिई निर्वाचन गर्न लागेको भन्दै राखेपले निर्वाचन रोक्न समितिलाई निर्देशन दिएको छ ।
राखेपको निर्देशनसँगै नयाँ कार्यसमितिको निर्वाचन समेत अन्योलमा परेको छ ।