एजेन्सी । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सन् २०१८ को सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित भएका छन् । युभेन्ट्सका स्ट्राइकर रोनाल्डोलाई स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो बर्षको सर्बोकृष्ट पुरुष खेलाडी घोषित गरेको हो ।
इएसपीएनले बुधबार राति रोनाल्डोलाई सन् २०१८ को सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित गर्दै 'इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर' अवार्ड प्रदान गरेको हो । महिलातर्फको यो अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन् ।
रोनाल्डो अवार्ड कार्यक्रम भने उपस्थित हुन् सकेनन् । चीनको यात्रामा रहेको कारण रोनाल्डो लस एन्जल्सस्थित माइक्रोसफ्ट थिएटरमा सम्पन कार्यक्रममा उपस्थिति जनाउन सकेनन् ।
रोनाल्डोले गत सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोले गत सिजन सबैखाले प्रतियोगितामा ४४ गोल गरेका थिए । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
तर, रोनाल्डो हालै इटालियन क्लब युभेन्ट्स गएका छन् । ९ बर्ष रियलमा बिताएका रोनाल्डो १०५ मिलियन पाउण्डमा युभेन्ट्स गएका हुन् ।