काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अहिले पहिलो अभ्यास खेल खेल्दैछ ।
नेपालले अहिले इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर होग्ससंग ५० ओभरको अभ्यास खेल खेल्न लागेको हो । साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेका छन् ।
नेपाली टोली पारस खड्काको कप्तानीमा मैदान उत्रिएका छन् । नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, सुबास खकुरेल, करण केसी, आरिफ शेख, शरद भेषवाकर, रोहित पौडेल, ललित भण्डारी, ललित राजवंशी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी रहेका छन् ।
यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससंग टी-ट्वान्टी खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसंग टी-ट्वान्टी खेल खेल्नेछ ।
चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ ।