एजेन्सी । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गतको पहिलो खेलमा इन्ग्लिश प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी पराजित भएको छ । शनिबार भएको खेलमा सिटीलाई जर्मन क्लब बोरुसिया डर्टमण्डले १ – ० ले हराएको हो ।
प्रि-सिजनको तयारी गर्न अमेरिकामा रहेको सिटीलाई पराजित गर्न डर्टमण्डमा मारियो गोट्जेले निर्णायक गोल गरे । सिकागोमा भएको खेलमा डर्टमण्डको लागि गोट्जेले २८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । गोट्जेले पेनाल्टीबाट गोल गरेका थिए । जर्मनलाई सन् २०१४ को विश्वकप दिलाउन फाइनलमा निर्णायक गोल गरेका गोट्जे रुस विश्वकपमा भने टोलीमा अटाएका थिएनन् ।
डर्टमण्डविरुद्धको खेलसंगै रियाद महरेजले सिटीमा डेब्यु गरेका छन् । महरेज गत साता मात्र क्लबकै कीर्तिमानी मूल्य ६० मिलियन पाउण्डमा लेष्टर सिटीबाट क्लबमा अनुबन्धित भएका थिए । अल्जेरियाका महरेजले डर्टमण्डविरुद्ध एक उत्कृष्ट फ्रिकिक समेत प्रहार गरेका थिए । तर, उनको प्रहार डर्टमण्डका किपरले उत्कृष्ट बचाऊ गरे ।
यस्तै सिटीले गोलकिपर जोए हार्डलाई दोस्रो हाफमा मैदान पठाएको थियो । लोनमा वेष्ट ह्याम पुगेका इन्ग्लिश गोलकिपर हार्ट यसै सिजनबाट सिटी फर्किएका हुन् ।