काठमाडौं । भारत समूह विजेता बन्दै श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै भारत लगातार तेस्रो जितसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
कोलम्बोमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य भारतले ३८ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि सालील आरोरा र साश्वत रावतले समान २९/२९ रन बनाए । यस्तै अर्जुन आजदले २१ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४० ओभर १ बलमा अलआउट हुँदै १२४ रन बनाएको थियो ।
अफगानिस्तानका अबिदुल्लाह तानिवालले ३९ रन जोडे । कप्तान फरहान जाखिलले २९ रन बनाए ।
भारतका सुशान्त मिश्रले ५ विकेट लिए । यस्तै अथर्भा एन्कोलेकारले ४ विकेट लिए ।
जितसँगै समूह 'ए' मा रहेका भारतले ३ खेलबाट ६ अंक जोड्यो । ३ खेलमा ४ अंक जोडेको अफगानिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
यस समूहबाट पाकिस्तान र कुवेत समूह चरणबाट बाहिरिएको छ ।
पाकिस्तानले समूह चरणको अन्तिम खेलमा सोमबार कुवेतलाई १६३ रनले हराएको छ ।