एजेन्सी । इटालियन क्लब रोमाको मालिक जेम्स पल्लोट्टालाई युरोपियन फुटबल महासंघ (युइएफए) ले तीन महिनाको प्रतिबन्ध लगाएको छ ।
गत मे महिनामा भएको च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्धको खेलमा खेल अफिसियलको बिषयमा गरेको टिप्पणीको कारण पल्लोट्टालाई तीन महिनाको प्रतिबन्ध लगाइएको हो । युइएफएले पल्लोट्टालाई अनावश्यक टिप्पणी गरेको भन्दै १७ हजार पाउण्ड जरिवाना समेत गराएको छ । प्रतिबन्धसंगै पल्लोट्टाले युइएफएले आयोजना गर्ने कुनैपनि खेलमा उपस्थिति हुन् पाउने छैनन् ।
च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रोमाले लिभरपुललाई ४-२ ले पराजित गरेको थियो । तर, समग्रमा ७-६ ले जित निकाल्दै लिभरपुल फाइनलमा पुगेको थियो । आफ्नो टोली सेमिफाइनलबाट बाहिरिएपछि पल्लोट्टाले रेफ्रीको गुणस्तरबारे आलोचना गरेका थिए । उनले रेफ्रीहरु लिभरपुललाई जिताउन लागिपरेको आरोप लगाएका थिए । यस्तै उनले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को बारेमा समेत टिप्पणी गरेका थिए ।
पल्लोट्टाले रेफ्रीबारे टिप्पणी गरेपछि युइएफएको नैतिक तथा अनुसाशन हेर्ने समितिले छानबिन गरेको थियो । जसमा पल्लोट्टा दोषी पाइएपछि उनलाई प्रतिबन्ध र जरिवाना तोकिएको हो ।