काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज (शनिबार) पहिलो अभ्यास खेल खेल्दैछ ।
नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर होग्ससंग पहिलो अभ्यास खेल खेल्ने छ । नेपाली समय अनुसार ४:४५ पछि हुने खेल ५० ओभरको हुनेछ । नेपाल र होग्सबीचको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ ।
यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससंग टी-ट्वान्टी खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसंग टी-ट्वान्टी खेल खेल्नेछ ।
चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।
युरोप भ्रमणको लागि १५ खेलाडीसहित १९ सदसीय नेपाली टोली बिहिबार नै लण्डन पुगिसकेका छन् । युरोप जाने टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।