एजेन्सी । ब्राजिलका युवा खेलाडी भिनिसस जुनियरलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गरेको छ । स्पेनिस महारथी रियलले १८ बर्षिय फरवार्ड भिनिससलाई ६ बर्षको लागि क्लबमा अनुबन्ध गरेको हो ।
रियलले शुक्रबार भिनिसससंग सन् २०२५ सम्मको लागि सम्झौता गरेको छ । भिनिससलाई रियलले ब्राजिलियन क्लब फ्लामेन्गोबाट ३५ मिलियन पाउण्डमा भित्र्याएको हो ।
रियलले शुक्रबार नै भिनिससलाई सार्वजनिक गरेको छ । रियलले भिनिससलाई स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गए लगत्तै भित्र्याएको हो ।
ब्राजिलको उमेर समूहबाट खेलिसकेका भिनिसस पछिल्लो पुस्तामध्यकै प्रतिभाशाली खेलाडी मानिन्छन् । उनले ब्राजिलियन टिमबाट यु-१५, यु-१७ र यु-२० टिमबाट खेलिसकेका छन् । भिनिससले गत सिजन फ्लामेन्गोबाट ३७ खेल खेल्दै ७ गोल गरेका थिए ।