एजेन्सी । फखर जमानले एकदिवसीय क्रिकेटमा पहिलो दोहोरो शतक बनाएपछि पाकिस्तानले चौथो एकदिवसीय क्रिकेटमा फराकिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा जमानको कीर्तिमानी प्रदर्शनमा पाकिस्तानले घरेलु टोली जिम्बावेलाई २२४ रनले हराएको हो ।
बुलावायोमा जमानले अविजित २१० रन बनाएपछि पाकिस्तानले पुरै पचास ओभर खेल्दै मात्र १ विकेट गुमाएर ३९९ रनको उच्च योगफल तयार गरेको थियो । जमानले १५६ बलमा ५ छक्का प्रहार गर्दा २४ चौका प्रहार गरेका थिए । योसंगै जमान एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने आठौ क्रिकेटर बने ।
यसअघि भारतीय क्रिकेटर रोहित शर्मा, सचिन तेन्दुलकर, विरेन्द्र शेभाग सहवाग, बेष्ट इन्डिजका क्रिस गेल र न्युजिल्याण्डका मार्टिन गप्टिलले दोहोरो शतक प्रहार गरेका छन् ।
पाकिस्तानको जितमा जमानले इमाम उल हकसंग मिलेर एकदिवसीय क्रिकेटमा किर्तीमानी साझेदारी गरे । उनीहरुले पहिलो विकेटका लागि ३०४ रनको साझेदारी गर्दै श्रीलंकाका उपल थरंगा र सनथ जयशुर्याको नाममा रहेको २८६ रनको कीर्तिमान ताेडेका थिए । उल हकले ११३ रनको शतकीय पारी खेल्दा आसिफ अलीले अविजित ५० रन जोडे ।
पाकिस्तानले दिएको ४०० रनको उच्च लक्ष्य पछ्याउने क्रममा जिम्बावे ४२ ओभर ४ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो । जिम्बावेका डोनाल्ड तिरीपानोले ४४ रन जोड्दा इल्टन चिगुमबाराले ३७ रन जोडे । त्यस्तै कप्तान कप्तान ह्यामिल्टन मुसाकाज्दाले २२ रन जोड्दा पिटर मुरले २० रन जोडे । जिम्बावेको पारी ध्वस्त बनाउन पाकिस्तानका शादब खानले ४ विकेट लिए । यस्तै फाहिम आश्रफ र उस्मान खानले समान २-२ विकेट लिए ।
योसंगै घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानले ४-० को अग्रता बनाएको छ । सिरिज भने पाकिस्तानले यसअघि नै जितिसकेको छ ।