काठमाडौं । रौतहट प्रिमियर लिग (आरपीएल) क्रिकेट आगामी असोजमा हुने भएको छ । आयोजक ओमेगा सेकेण्डरी स्कुल ललितपुरको आयोजनामा पहिलो संकरणको लिग असोज १ गतेबाट १० गतेसम्म आयोजना हुने भएको हो ।
गरुडास्थित श्री सुगर मिल्सको मैदानमा हुने प्रतियोगितामा १२ क्लबको सहभागिता रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलनबाट जानकारी गराएको हो । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिने छ । शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् ।
टी-ट्वान्टी फर्म्याटमा हुने प्रतियोगिताको बिजेताले ३ लाख ५० हजार प्राप्त गर्दा दोस्रोले १ लाख ५० हजार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान १०/१० हजार पाउनेछन् । त्यस्तै सर्वाधिक छक्का प्रहार गर्नेले ८ हजार, सर्वाधिक चौका हान्नेले ७ हजार र म्यान अफ दि म्याच खेलाडीले २ हजार पाउने छन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक ओमेगा सेकेण्डरी स्कुल, एचसीए, नेक्सस एकेडमी, रौतहट क्लब, लायन्स युवा क्लब,ओसिस एकेडमी, रोयल पिसी फाइटर, मलपोखरी क्रिकेट क्लब, नेपाल क्रिकेट स्कुलले प्रतिस्पर्धा गर्ने छन्।