काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् ।
आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका हुन् । नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् ।
वरियताको अलराउण्डरतर्फ कप्तान पारस २७ औं स्थानमा रहेका छन् । कप्तान पारसले ९० रेटिङ अंक पाएका छन् । कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ ।
तर, कप्तान पारस अलराउण्डरमा वेष्ट इण्डिजका आन्द्रे रसेल, क्रिस गेल, भारतका सुरेश रैना, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् ।
यस्तै अलराउण्डरतर्फ ४९ रेटिङ अंक पाएका नेपालका सोमपाल ६७ औं स्थानमा यथावत रहेका छन् ।
यस्तै ब्याटिङतर्फ कप्तान पारस ६८ औं स्थानमा रहेका छन् । ४१७ रेटिङ अंक पाएका कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।
बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् । ४११ रेटिङ अंक पाएका सोमपाल यथावत रहदै ७८ औं स्थानमा रहेका छन् ।
यस्तै बसन्त एक स्थान तल झर्दै ७२ औं स्थानमा रहेका छन् ।