काठमाडौं । अफगानिस्तानले श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा कुवेतलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले लगातार दोस्रो जित निकालेको हो ।
कोलम्बोमा कुवेतले दिएको ८६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १२ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
अफगानिस्तानको जितमा कप्तान फरहान जखिलले अविजित ३८ रन जोड्दा रहमानउल्लाहले २८ रन बनाए । कुवेतका अब्दुल सादिक, फाईज क्विरेसी र सन्जिब नेइरले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले २७ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन बनाएको थियो । कुवेतका लागि मिट भाभसरले सर्वाधिक २० रन जोड्दा गोविन्द कुमारले १४ रन बनाए ।
कुवेतलाई सस्तैमा समेट्न अफगानिस्तानका साफीकउल्लाह गफारीले ३ तथा नुर अहमद र फजलहक फारोकीले २/२ विकेट लिए ।
जितसँगै समूह 'ए' मा रहेका अफगानिस्तानले २ खेलबाट ४ अंक जोडेको छ । र, अफगानिस्तान शीर्ष स्थानमा छ । अफगानिस्तानको सेमिफाइनल सम्भावना बलियो समेत बनेको छ । दुई खेल गुमाएको कुवेतले अंक जोड्न सकेको छैन ।
पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई डिएल पद्दतिको आधारमा ८५ रनले पराजित गरेको थियो ।