एजेन्सी । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कर छलीको आरोपमा २ बर्ष जेल सजाय र मोटो रकम जरीवाना तिर्न राजी भएका छन् ।
स्पेनिस रेडियो क्याडेना कोपले जनाए अनुसार रोनाल्डो २ बर्ष जेल सजाय र १२.१ मिलियन पाउण्ड तिर्न राजी भएको हो । यस्तै कानुनी लागतवापत उनले ४.३ मिलियन पाउण्ड तिर्ने छन् ।
हालै इटालियन क्लब युभेन्ट्समा आबद्द भएका रोनाल्डोलाई गत बर्ष सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको थियो । तर, रोनाल्डोले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए ।
स्पेनिस क्लब रियल मड्रिडमा रहदा ३३ बर्षीय रोनाल्डोमाथी सन् २०१० देखी साढे १३ मिलियन पाउण्ड बराबरको कर छलेको आरोप लागेको थियो । विश्वका सर्वाधिक कमाइ गर्ने रोनाल्डोलाई विभिन्न समयमा तस्विरहरु बिक्री गरेवापत आएको रकममा कर नतिरेको आरोप स्पेनिस कर अधिकारीले लगाएका थिए ।
जेल सजाय भोग्न तयार भएपनि रोनाल्डोले जेल जान भने पर्ने छैन । स्पेनीस कानुनअनुसार २ बर्ष सम्मको जेल सजाय पाएकाले जेलमा बस्नु पर्दैन ।
रोनाल्डो यसै सातामात्र इटालियन क्लबमा अनुबन्धित भएका छन् । र, रोनाल्डो स्पेनिस क्लबमा नबस्नुको मुख्य कारण पनि स्पेनमा हुने उच्च कर नै बताइएको छ ।